थबाङ सडकमा सेनाको चासो



    Thabang
    रोल्पा, फाल्गुन २८ - दशकदेखि अलपत्र सुलीचौर-थबाङ सडक निर्माणमा नेपाली सेनाले चासो देखाएको छ ।
    सुलीचौरबाट ३० किलोमिटर पर्ने सेरमस्थित विशाल चट्टानी भीर फोर्न नसकेर निर्माण अगाडि बढ्न सकेको छैन । द्वन्द्वकालमा जर्मन प्राविधिक सहयोग नियोग (जीटीजेड) ले बनाउन सुरु गरेको उक्त सडक शान्ति प्रक्रियासँगै अपुरो अवस्थामा सरकारलाई हस्तान्तरण गरिएको हो ।
    सशस्त्र युद्धबाट अति प्रभावित पूर्वी रोल्पामा सडक निर्माण गर्न सरकारले आग्रह गरे सहभागी हुने सेनाको निष्कर्ष छ । स्रोतका अनुसार रोल्पास्थित देवीदत्त गणका अधिकारीहरूले सम्भावित जिम्मेवारीलाई ध्यान दिँदै प्रारम्भिक अध्ययन गरिसकेका छन् ।
    'यो सडक निर्माणमा सेनाको चासो छ,' गणका एक अधिकृत भन्छन्, 'विकासका हिसाबले निकै पछि परेको रोल्पामा योलगायत अन्य महत्त्वपूर्ण सडक निर्माण गर्न सकिए जनताले विकासको अनुभूति गर्नेछन् ।' उनका अनुसार रोल्पामा सडक खन्नेलगायत विकास निर्माण एवं सामाजिक सेवाका कार्यमा सहभागी हुन सैनिक मुख्यालयले समेत चासो राख्दै आएको छ ।
    सशस्त्र द्वन्द्वअघि दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै रुकुम पुर्‍याउने सडक खन्ने जिम्मा नेपाली सेनाले लिएको थियो । द्वन्द्व चरमोत्कर्षतर्फ गएपछि सेनाले हात झिक्यो । युद्धभर माओवादीसँग लडेको सेनाले शान्ति प्रक्रियापछि विकास निर्माणमा चासो देखाएको हो ।
    सेनाबाट सुलीचौर-थबाङ सडक खनाउन सरकारले आह्वान गर्ने टेन्डर रकमभन्दा धेरै बजेट खर्चनुपर्ने अधिकारीहरू बताउँछन् । 'सेनाले रोल्पामा सडक निर्माण गर्दा आवश्यक निर्माण सामग्री हेलिकप्टरबाट समेत ओसार्न र विस्फोटक पदार्थ प्रयोग गर्न सक्नेछ । यसबाट बजेट निकै बढ्छ,' गणका एक अधिकृतले भने ।
    माओवादीका नेता एवं पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईले आ-आफ्नो कार्यकालमा उक्त सडक निर्माण सेनालाई जिम्मा लगाउने प्रस्ताव अघि सारेका थिए । रोल्पा घर हुने माओवादी नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले ठूलै बजेटसहित सेनालाई त्यो जिम्मा लगाउने योजनासमेत तयार गरेका थिए ।
    जीटीजेडले फूलीवनसम्म पुर्‍याएको सडकले उवा हुँदै थबाङ छेड्न बाँकी छ । सरकारलाई हस्तान्तरण भएयता सडक पूरा गर्न एकमुष्ट बजेट विनियोजन हुन सकेको छैन । 'फूलीवन नजिकको सिरक्याङ भीर फोर्न नसक्नु हाम्रो टाउको दुखाइ हो,' स्थानीय विकास अधिकारी हीरालाल रेग्मी भन्छन्, 'सडक थबाङ पुर्‍याउन सकेमा पूर्वी रोल्पाको सपना पूरा हुने थियो ।' सडकमार्फत पूर्व-पश्चिम राजमार्गसँग रोल्पाका आधाभन्दा बढी गाउँ जोड्ने योजना छ ।
     

    प्रकाशित मिति: २०७० फाल्गुन २८ ०९:०५ 
    http://www.ekantipur.com/np/2070/11/28/full-story/385542.html

    No comments:

    Post a Comment