थबाङले माग्यो सेनासँग सडक

देश»

थबाङले माग्यो सेनासँग सडक


    नेपाली सेनाका उपरथी राजेन्द्रबहादुर कार्कीसँग थबाङ सडक निर्माण गरिदिन माग गर्दै माओवादी नेता जयप्रकाश रोकामगर र पूर्वशिक्षक रेशमकुमार शाह थबाङमा। तस्बिर : काशीराम/कान्तिपुर
    थबाङ, भाद्र १६ -बहुप्रतिक्षित सुलिचौर-थबाङ सडक योजना निर्माणका लागि स्थानीय वासिन्दाले नेपाली सेनालाई आग्रह गरेका छन्। पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा कुनै पनि सरकारले सडक निर्माण सपना साकार पार्न नसकेपछि उनीहरूले सेनालाई अन्तिम गुहार गरेको जनाएका छन्। पञ्चायतकालदेखि नै थबाङमा सडक पुर्‍याइदिन स्थानीयले सरकारलाई लिखित माग गर्दै आएका थिए। 'तत्कालीन राजा वीरेन्द्रसँग माग गरेका थियौं। बहुदल आएपछि पनि हाम्रो सपना पूरा भएन', नेकपा-माओवादी जिल्ला नेता जयप्रकाश रोका मगरले भने, 'अब सेनाले मात्र यो काम गर्छ भन्ने लागेको छ। सडक बनाउन सेनालाई अन्तिम विकल्पका रुपमा हेर्दै हामीले लिखित रुपमा माग गरेका छौं।' निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न केही समयअघि थबाङ पुगेका उच्च सैनिक अधिकारीसमक्ष उनले सरकारले वेवास्ता गर्दै आएको सुलिचौर-सडक निर्माण गरिदिन विशेष आग्रह गरेका थिए।

    यस सडक खण्डअन्तर्गत सेरमको सिरक्याङ भिर काटेर थबाङमा सडक पुर्‍याइदिन सेनालाई थबाङ्गीले सर्वपक्षीय निर्णय गरिसकेका छन्। 'गाउका सबै बसेर सर्वसम्मत निर्णय गरेर यो सडक सेनाले नै निर्माण गर्नुपर्छ र चाडै सडक बनाउनु पर्छ भनेर सबैले माग गरे', थबाङस्थित वीर बलभद्र उच्च माविका अध्यक्ष रेशमकुमार शाहले भने, 'कुनै पनि सरकार र तिनका नेताहरूले योजना सम्पन्न गर्न नसकेपछि सबैले सेनामाथि भरोसा गरेका छन्।'

    दश वर्षदेखि अलपत्र सडक निर्माणमा सरकारले सिरक्याङ भिर कटान गर्दा करोडौ खर्चिसकेको छ। सुलीचौरदेखि थबाङ सडकअन्तर्गत सरेम सडक खण्डको फुलीवनसम्म मात्र सडकको रेखांकन गरिएको छ। त्यसअघिको उवा हुँदै थबाङ पुर्‍याउन कडा चट्टानसहित करिब १ सय किलोमिटर सडक खन्न बाँकी छ। सुलिचौरदेखि सेरमसम्मको सडक तत्कालीन जर्मन प्राविधिक सहयोग नियोग (जीटीजेड) ले कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत निर्माण गरिदिएको हो।

    थबाङ सडक निर्माणमा यसअघिदेखि नै विशेष चासो देखाउँदै आएको नेपाली सेनाले सडक निर्माण गरिदिने संकेत देखाएको छ। सेनाका मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्रबहादुर कार्कीले स्थानीयको गुनासो सुनेपछि भने, 'यसबारे के प्रक्रिया अपनाउन सकिन्छ भन्नेबारे सेनाले सरकारसँग समन्वय गर्नेछ।' उपरथी कार्कीले पूर्वी रोल्पा अन्तर्गत अलपत्र चट्टानी सिरक्याङ भिरको अवलोकन समेत गरेका छन्।

    स्रोतकाअनुसार उक्त सडक निर्माण गर्न के कस्तो योजना बनाउन सकिन्छ भन्नेबारे सेनाको रोल्पास्थित देवीदत्त गणले यसअघि नै प्रारम्भिक सर्वेक्षण गरिसकेको छ। गणपति प्रमुख सेनानी उन्नत राणा भन्छन्, 'सडक निर्माण गरिदिन आग्रह गर्दै थबाङवासीले लिखित आग्रह गरेका छन्। यसबारे सैनिक हेडक्वाटरमा पनि जानकारी भइसकेको छ।' थबाङ गाविसका प्राविधिक सहायक चन्द्रज्योति सुवेदीका अनुसार सेनाले सडक निर्माणलगायत विकास निर्माणका सम्भावित अरू योजनाबारे विवरण संकलन गरिसकेको छ।

    पूर्वसांसद बरमन बुढामगरले सुदूर उत्तरी क्षेत्रमा पर्ने थबाङलाई केन्द्रविन्दु बनाई सुलिचौर-थबाङ सडक निर्माणको कुरा पञ्चायतकालदेखि नै चलेको बताए। २०४८ सालमा रोल्पाबाट सांसद निर्वाचित उनले भने, 'यसबारे मैले तत्कालीन संसद्मा पनि कुरो उठाएको थिएँ तर सुनुवाइ भएन।' उनका अनुसार थबाङ सडकलगायत विकासका अरू योजनाबारे तत्कालीन सरकारले बेवास्ता गरेपछि २०४५ सालमा थबाङ पुगेका तत्कालीन राजा वीरेन्द्रसामु उनीसहित थबाङवासीले सडक सम्बन्धमा लिखित माग गरेका थिए।

    यो सडक पूर्वी रोल्पाको एउटा महत्त्वाकांक्षी योजनाअन्तर्गत पर्छ। थबाङ सडक निर्माण हुन सके पूर्वी रोल्पावासीकै सडक सपना पूरा हुने अधिकांशको विश्वास छ। पर्यटकीय महत्त्वले समेत महत्त्वपूर्ण मानिएको यो सडकको निर्माण पूरा भए पूर्व-पश्चिम राजमार्गसँग रोल्पाका आधाभन्दा बढी गाउँ जोड्न सकिने छ। अघिल्ला जिल्ला परिषद्मार्फत सुलिचौर-थबाङ सडक खण्ड समेट्दै जिल्ला सडक गुरु योजनासमेत पारित भइसकेको छ।

    माओवादीद्वारा सशस्त्र द्वन्द्वअघि दाङको घोराहीदेखि रोल्पाको होलरी हुँदै रुकुम पुर्‍याउने सडक खन्न उक्त अवधिमा नेपाली सेनाले जिम्मेवारी लिएकोे थियो। तर द्वन्द्वले चरम उत्कर्षका रूप लिँदै गएपछि भने नेपाली सेनाले कामबाट हात झिकेको थियो। त्यसयता माओवादीसँगको प्रत्यक्ष लडाइँहरूमा भाग लिएको सेनाले शान्ति प्रक्रियापछि भने विकास निर्माणमा चासो देखाएको हो।

    प्रकाशित मिति: २०७१ भाद्र १७ ११:०२
    http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=328826

    No comments:

    Post a Comment