रोल्पा

रोल्पा | काशीराम डाँगी

30th August 2014   ·   0 Comments
OLYMPUS DIGITAL CAMERAरोल्पा अहिले कस्तो छ ? के भइरहेको छ रोल्पामा ? सबै रोल्पाली माओवादी होलान् । सबै हुन् ? रोल्पामा के सबैले माओवादी मात्रलाई मान्दछन् ? केही समयअघि राजधानीको मिनीबसभित्र कसैले मलाई सोध्यो । एकतर्फी प्रश्नको ओइरो सुनेर मैले केही बोल्ने प्रयास गरें । परीक्षा हलमा पुग्न मलाई निकै हतार थियो । तर पनि बृद्ध जस्ता देखिने एक मानिसले मेरो घर रोल्पा भएको थाहा पाएपछि उनले यी प्रश्न तेर्साएका थिए । सँगैको सिटमा कोचिएर बस्दा भेट भएका उनले मसँग नजिकिएर सोध्ने प्रयास गरेका थिए । तर उनको सोधाइ सोझो र चर्को प्रकारको लाग्थ्योे ।
सम्भवतः मुलुकभर वा विश्वको कुनै पनि कुनामा भेटिने रोल्पालीहरुलाई होस्, जोसुकैले पनि यस्तै प्रश्न गर्नेछ । ‘रोल्पा’ नाम सुन्ने बित्तिकै रोल्पाबारे सोधीखोजी गर्न थाल्छन् । प्रायः मानिसहरुले रोल्पा सुन्ने बित्तिकै माओवादी, युद्ध, गरिबी, अप्ठ्यारो भूगोल, सोझा जनता र राज्यको हेराइ लगायतका विषय वा सवालबारे प्रश्न बनाउँछन् । राजधानीका यी मध्यम वर्गीय बृद्धले मेरो अघिल्तिर थुप्रै प्रश्नको जवाफ खोजे ।
कुरा केही समयअघिको हो । म रत्नपार्कबाट गैरीधारासम्मको माइक्रोबसको यात्रामा थिएँ । म बस चढ्नेबित्तिकै जमल छेउबाट यी मानिस पनि बस चढ्न आइपुगें । करिब १५/२० मिनेट जति हाम्रो यात्रा सँगसँगै रह्यो । बाटैभरि कुराकानी भए । कुराकानीका क्रममा मैले पनि उनीबाट पुराना विषयबारे धेरै जान्ने प्रयास गरें । उनको प्रश्नमा मैले जवाफ दिदै र मेरो प्रश्नका उनका जवाफ सुन्दै गएँ । वास्तवमा मैले मेरो घर रोल्पा हो भन्ने बित्तिकै ती बृद्ध एकतमासले मतिर फर्किए र एक प्रकारले उनी आक्रोशितजस्ता देखिए । एकैछिनमा उनले आक्रोशयुक्त, जिज्ञासु र असामान्य प्रकारले आफ्ना सवाल अघि बढाए ।
आखिर उनले किन यस्तो गरे होलान् भनेर म अहिले पनि गम खाएर सोच्दछु । अपरिचित उनले मेरा सामुन्नेमा किन यी प्रश्न बताए होलान् ? यो विषयले अहिले पनि मलाई तरङ्गीत बनाउँछ र म फेरि–फेरि पनि केही न केही सोच्न बाध्य भइरहेको हुन्छु ।
आखिर किन उनले यी प्रश्न सोधे ? मेरो मनमा पटक–पटक यी सवाल उब्जन्छन् ।
‘रोल्पा !’ ती बृद्धले मतिर हेर्दै सुरु सवाल उठाएका थिए । अहिले पनि मेरो कानमा यो प्रश्न जोडले ठोक्किएर आइरहेकै हुन्छ ।
‘रोल्पाले बर्बाद पा¥यो ।’ उनको मुखबाट दोस्रो सवाल उठेको थियो । निकै छोटो गाडी यात्राका बीचमा उनीसँग मेरो न परिचय बन्न सक्यो न त मैले पुनः भेटेर यी सवालबारे पुनः छलफल गर्न सम्भव नै देखेको छु ।
सुरुमा बसमा भेट्ने बित्तिकै उनले मप्रति आश्चर्य व्यक्त गरे । कुराकानी गर्दै जाँदा भने उनले खुलेरै आफ्नो कुरा खोल्दै गए, ‘रोल्पा नभएको भए माओवादीको ‘जनयुद्ध’ पनि हुने थिएन कि !’ ‘त्यहींबाट सुरु भएको ‘जनयुद्ध’ले काठमाडौंलाई खाइसक्यो । २०५२ सालमा सुरु भएको माओवादीको ‘जनयुद्ध’ कालान्तरमा ‘हतियारयुद्ध’, ‘हिंसायुद्ध’, ‘जबर्जस्तयुद्ध’, ‘जथाभाबीयुद्ध’ हुँदै ‘धनयुद्ध’मा परिणत भयो ।’ उनले सम्भवतः धेरै वर्ष अघिको समय सम्झिए ।
माओवादी उत्पत्तिपछि मुलुकमा अराजकता सिर्जना भएको उनको ठहर थियो । माओवादी र त्यसको ‘युद्ध’ बारे राम्रै जानकारी राखेका उनी खासमा पूर्व निजामती कर्मचारी रहेछन् । ‘म भर्खर पेन्सन निस्कने सोच राख्दा माओवादीको युद्ध निकै चर्कदो थियो ।’
आफैले हेर्दाहेर्दै लोकतन्त्र पनि सिद्धिन लागेको उनको ठम्याइ माओवादी समर्थित विद्यार्थीहरुले निजी विद्यालय भवनहरुमाथिको हमलामा पनि केन्द्रित हुन गयो । उनले अरु दललाई पनि माओवादीकै लहैलहैमा लागेर जनता बिगारेको आरोप लगाए । मुलुकमा संविधानसभाको निर्वाचनले पनि केही उपलब्धि दिन नसक्नु नेपाली जनतामाथि बलजफ्ती ऋण थोपर्नु र अन्याय गर्नु उनको कठोर निष्कर्षजस्तै थियो ।
करिब ७० वर्ष आसपासको उमेर खाएका देखिने उनको अनुहार हेर्दै मैले निकै बेर सोचें ।
के यिनले व्यक्त गरिरहेका कुरा वास्तविक छन् ? मेरो मनभित्र कैयौं प्रकारका चित्र कोरिदै गए । हिंसा, अत्याचार, भ्रष्टाचार, अराजकता, मानवअधिकार हनन्का कैयन् प्रतिमूर्ति मेरो अघिल्तिर उभिए ।
आज भन्दा १७ वर्षअघि माओवादीले ‘जनयुद्ध’ सुरु गरेको त्यही ठाउँ रोल्पामा जन्मी हुर्केको म कहिलेकाहीं राजधानी आउँछु । अध्ययनको सिलसिला वा उपचारको क्रममा मलगायत मभन्दा सुगम स्थानमा जन्मेका सबै राजधानी नआई हुँदैन । एकछिनमा मैले आफैलाई प्रश्न गरें, के रोल्पाबारे सबैले यस्तै बुझेका होलान् ? के यही हो रोल्पाबारे सत्य/तथ्य कुरा ?
‘के छन् हँ रोल्पालीका पीडा ? कति छन् ? कसलाई सुनाउने हो ? को छ सुन्ने ?’ यी मेरा प्रश्न हुन् । म आफैले प्रश्न गरें र म आफैले सुनें । यी प्रश्न मैले प्रायः दैनिक समयमा गर्दछु र मजस्ता अढाइ लाख रोल्पालीले गरिरहेका होलान् । तर जवाफ दिने कसले ? सुनाउने कसलाई ? सायद हामी सबैको यही समस्या हो ।
छोटो बस यात्राभर उनले राष्ट्र, राष्ट्रियता र जनताको सवालबारे भने खुबै चिन्ता गरे । सेतै कपाल फुलेका उनले मानिसहरुका बीचमा मानवीयता हराउँदै गएकाले जसले जे गरे पनि छुट भएको दुखेसो सुनाए । पत्रपत्रिका, रेडियो, टिभीमा र आम मानिसको भावनामा शान्ति हराइसकेको जर्जर अवस्थाबारे अनुभूति साट्दै उनले ‘राजा वीरेन्द्र सोझो हुन नजानेकाले मुलुकमा हिंसात्मक अवस्था बढेको’ निष्कर्ष सुनाए । ‘राजाले भन्या मान्या भए उहिल्यै ‘समाधान’ (बलका माध्यमबाट) आइसक्ने’ उनको बुझाइ थियो । तत्कालीन माओवादीले रोल्पामा सरकारी संयन्त्रमाथि गरेका हमलाहरुबारे तिथिमितिसमेत उल्लेख गरेर उनले सोझाहरुमाथि उद्दण्डहरुले ‘राजनीतिका नाउँमा राज’ गरेको बताए । तत्कालीन राजा वीरेन्द्रले सेना परिचालन गर्न चाहेको भए हतियार युद्धको ‘समाधान’ उहिल्यै निस्कने पक्का भएको ती बृद्धले बताए ।
राज्यले जनतासम्म सेवा सुविधाको पहुँच नपु¥याएको भनेर तत्कालीन माओवादीले थालेको हिंसात्मक युद्ध मेरै आँखाले देखेको हुँ । यो अवधिमा कैयौंको ज्यान गयो । कैयौं बेपत्ता छन् । अङ्गभङ्ग भएका र यातना पाएकाहरुको दुःख बुझिनसक्नुको छ । मानवअधिकार, प्रेस स्वतन्त्रता अधिकार मात्र हैन, बाँच्न पाउने अधिकारको पनि उपभोग गर्न पाएको अवस्था थिएन हिजो । त्यसैले बाँच्नका खातिर घर छोड्नेहरु, परिवारको हेरचाह गर्न नसकेकाहरु र बालबाल ज्यान जोगाएकाहरुले पनि मुस्किलले बाँच्ने अवसर पाएका छन् । तर अहिलेको संक्रमणकालीन अवस्थाले यस्ताहरुलाई खासै छोएको समेत छैन । यो पक्का हो ।
रोल्पामै लामो समय क्रियाशील पत्रकार मैले यी सबै कुरालाई निकै नजिकबाट देख्न, भोग्न र छाम्न पाएँ । म ठान्छु, अहिले पनि रोल्पा, रुकुममा शान्तिको अनुभूति भएको छैन । शान्तिका लागि केही कार्य नभएका हैनन् तर राज्यको सोझो र सिधा दृष्टिकोणमा रोल्पा–रुकुमका गाउँहरु अहिले पनि आगोमा बलिरहेका छन् । रगतका खालमा आहाल बसेका छन् । फगत राजनीतिकर्मीले पुनः यही कमजोरीलाई आफ्नो नारा बनाउँछन् । यो बुझाइ म एउटा पत्रकारका हिसाबले हुन सक्ला तर आखिर यस्तो बुझाइ आम मानिसहरुसँग पनि छ ।
‘जनयुद्ध’ मनाउन कतिपय माओवादी नेताहरु यो पालि पनि रोल्पा पुगे । एक प्रकारको शान्ति प्रक्रियामा आइसकेको तत्कालीन ‘जनयुद्ध’ फेरि ब्यूँताउने कि भन्ने ‘अनुसन्धान’ गर्न पुगेका ती नेताहरुले फेरि जनयुद्धको सम्भावना देखेका होलान् । उताबाट फर्केर आएपछि नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले यसो पनि भनेछन्, ‘रोल्पालीहरु पुनः युद्ध गर्न तयार छन् ।’ मिडियाहरुमा उनले यसो भनेपछि स्वभावतः बहस चलेको छ, के फेरि पनि जनयुद्ध हुन्छ भन्ने विषयमा ।
‘जनयुद्ध’कै कारण रोल्पा चिनियो । कुनै बेला मन्त्रालयहरुबाट रोल्पा पठाइएका चिठ्ठी–पत्रहरु डोल्पा पुग्थे । माओवादी जनयुद्धले रोल्पालाई केन्द्रभूमि मानेकाले तत्कालीन माओवादी गतिविधि निस्तेज पार्न सरकारी फौजले रोल्पा कहाँ पर्छ, कस्तो छ र क–कसको बसोबास छ भन्ने बारेमा राम्रै जानकारी पायो । र, विश्वभर रोल्पाबारे नजान्नेहरु कमै होलान् जसले नेपालको द्वन्द्वका बारेमा ज्ञान राख्न चाहन्छन् । यदि पुनः जनयुद्ध थाल्ने हो भने यसअघि केही प्रश्न उब्जनु स्वभाविक ठहर्ला । जनयुद्धको उद्गम गाउँ थबाङलाई सरकारले शान्ति प्रक्रिया थालनी भएपछि नमूना गाउँ बनाउँदैछ । निकै पुरानो इतिहास बोकेको गाउँलाई नमूना बनाउन अत्याधुनिक सुविधायुक्त बनाउन सरकारले करोडौंको लगानी गरिसकेको छ । नजिकैको अर्को गाउँ जेलबाङलाई शान्ति गाउँ बनाउँदैछ । यहाँ पनि सरकारले करोडौं रकम खर्च गरिसकेको छ । जनयुद्ध थाल्ने हो भने अब यी गाउँमा के विकास रोक्ने ? त्यसैले जनताको भावनासँग खेलबाड गर्नु राजनीतिक दल या नेताहरुको काम हैन ।
यसकारण जनयुद्ध बिसाइसकेपछि रोल्पालाई विकास, समानता, अवसर र शिक्षाजस्ता कैयौं क्षेत्रबाट परिवर्तन गर्न ‘नीतिगत सुधार’ गर्छौं भन्ने नेताहरुले अहिले सिंहदरबार भरिएको छ । जनताले आफ्नो गाउँमै बसेर ‘माथिबाट के आउँछ’ भनी आशा र भरोसा मात्र गर्ने हो । सबै रोल्पालीले त्यहीं गरेका छन् । यस अर्थमा बस यात्रामा भेटिएका यी बृद्धका कुरा मैले नौला मानेर एकोहोरो सुनिरहें । रोल्पामा एकछत्र एउटै पक्षका कुरा सुनेर दिक्क लागेको मनले केही भिन्न कुरा सुन्न पाउँदा कम्तीमा आनन्द लाग्दोरहेछ ।
किनकि रोल्पातिर न बृद्धले यस्तो कुरा गर्छन् न त यस्ता (भिन्नखाले कुरा गर्नेहरुको) कुनै वास्ता नै छ । किनकि अझैं पनि सबै दलीय संरचना गाउँसम्म झांगिन नपाउनु/नसक्नु यसको बलियो प्रमाण हो । रोल्पामा माओवादीसँग बाक्लो भेटघाट भइरहने र खासगरी कुरा उस्तै पक्षका गरिरहने भएकाले मैले ती बृद्धको कुरालाई नौलो रुपमा ग्रहण गर्न पाएँ । मनमनै ताजा रुपमा रोल्पाको वर्तमान मैले सम्झिरहेको थिएँ । उनका कुराप्रति ‘अँ, हजूर भन्दै गरेको म बसबाट ओर्लन खोज्दा उनले आफू पनि कुनै बेला ‘कम्युनिष्ट’ भएको खुलासा गरे । बसबाट ओर्लेपछि मैले रोल्पाका जनता र तिनको वर्तमान अवस्थालाई एकपटक पुनः सम्झें । मनमनै मेरा केही प्रश्न पनि उब्जिए । रोल्पाका बारेमा किन यस्तो भइरहेको छ ? सत्ता पाउन काठमाडौं चाहिने अनि राजनीतिक ‘इस्यु’ उठाउन किन रोल्पा चाहिने ? के वास्तवमै रोल्पालीहरु पुनः युद्ध गर्न राजी छन् ? यो कसैले ती जनतालाई सोधेको छ ?

लिबाङ, रोल्पा
http://saugat.nayayougbodh.com/?p=637

No comments:

Post a Comment