क्षेत्रीय»

दुईखोली-बागमारा सडक बन्यो

    पश्चिमी रोल्पाको इरिबाङको बागमारामा पहिलो पटक गाडी पुग्दा सडक उद्घाटन गर्दै नेताहरू र खुसियाली मनाउँदै स्थानीयवासी ।
    पश्चिमी रोल्पाको इरिबाङको बागमारामा पहिलो पटक गाडी पुग्दा सडक उद्घाटन गर्दै नेताहरू र खुसियाली मनाउँदै स्थानीयवासी ।तस्बिर : काशीराम डाँगी/कान्तिपुर
    बागमारा -रोल्प्ाा, वैशाख ९ -
    पश्चिमोत्तर रोल्पाको व्यस्त बजार इरिबाङको बागमारा बजारमा पहिलो पटक सडक पुगेको छ । अघिल्लो वर्षको जेठदेखि निर्माण थालिएको सहिदमार्ग सडक खण्डको दुईखोली-बागमारा सडक निर्माण २०६९ चैतमै सकिएको थियो । तीन दिनअघि शुक्रबार जिल्लास्थित मुख्य राजनीतिक दलका शीर्षस्थ दलका नेताहरू यहाँ पुगेर सडकको उद्घाटन संयुक्त रूपमा गरे । पूर्वसहायक मन्त्री एवं कांग्रेस नेतृ भीमकुमारी बुढा लगायत नेताहरूले सडक पुगेको खुसियालीमा सडक उद्घाटन गर्दा सयौंको संख्यामा भेला भएका स्थानीयले भव्य स्वागत गरे । जिल्ला विकास समिति, केन्द्रीय सडक योजना तथा स्थानीय उपभोक्ताहरूको श्रमदान गरी ७२ लाखमा उक्त सडकको निर्माण भएको हो । एक दशकअघि निर्माण थालिएको दाङको घोराहीदेखि रोल्पाको थबाङ र रुमुकको चुनबाङ पुग्ने सहिद मार्गको दुईखोली-बागमारा-चुनबाङ सडक खण्डको उद्घाटन पूर्वसहायक मन्त्री भीमकुमारी बुढा, एमाओवादी केन्द्रीय सदस्य दीपेन्द्र पुन, कांग्रेस सभापति कृष्णबहादुर घर्ती, एमाले अध्यक्ष हरिप्रसाद घर्तीमगर, नेकपा-माओवादी जिल्ला सचिव केशबहादुर बाठा र राजमो जिल्ला सल्लाहकार हस्तमणि पुन लगायतले गरे ।

    जिल्ला विकास समितिअन्तर्गत जनसहभागितामा आधारित विकास कार्यक्रमबाट २० लाख, केन्द्रीय सडक योजनाबाट ३० लाख तथा स्थानीय जनताको २२ लाख गरी ७२ लाखमा दुई खोली-बागमारासम्म ३ हजार १ सय मिटर लामो सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी डाँगीले बताइन् । घोराहीदेखि रोल्पाको होलेरी, नुवागाउँ, गैरीगाउँको टिला, घर्तीगाउँ हँुदै उक्त सडक बागमारा पुगेको हो । थबाङ पुग्ने सडक दुईखोलीबाट सडक गाउँमा पुगेपछि स्थानीयका सबै सामान ढुवानीमा सजिलो भएको बताए । स्थानीयसमेत रहेका उद्योग वाणिज्य संघ रोल्पाका कोषाध्यक्ष विश्वकुमार चन्दले जिल्लाको सुदूरपश्चिमका रूपमा चिनिएको बागमारा बजारले केन्द्रीय सडक सञ्जालमा जोडिन पाएको बताए तर हिउँदको समय बाहेक यहाँसम्म यातायातका साधन चल्न नसक्ने उनले बताए । जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर गौरीकुमार श्रेष्ठले अहिलेलाई सडकको ट्रयाक मात्र खनिएकाले साना गाडी मात्र चल्न सक्ने बताए । बागमारास्थित १५ वर्षयता क्रियाशील हुँदै आएको स्थानीय लालीगुराँस युवा क्लबका अध्यक्ष दीपेन्द्र डाँगीले सडक गाउँसम्म ल्याउन युवाहरूले पनि श्रमदान गरेको बताए । गाउँमा सडक आएकाले कृषि उत्पादन, साना उद्यमको विकास, बस्तुपालनमा आधुनिक प्रविधि अपनाउनुपर्ने, स्थानीय वस्तुको व्यापार बढाउने लगायतका उद्देश्यमा केन्दि्रत हुने स्थानीयले बताएका छन् ।

    प्रकाशित मिति: २०७० वैशाख १० १२:०४

    No comments:

    Post a Comment