रोल्पाको जेलबाङलाई शान्तिगाउँ बनाइने | देश | :: कान्तिपुर ::

रोल्पाको जेलबाङलाई शान्तिगाउँ बनाइने | देश | :: कान्तिपुर ::
रोल्पा, माघ ६ - 
युद्धका बेला सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति भएको जिल्लाको जेलबाङ गाविसलाई सरकारले शान्तिगाउँका रूपमा विकास गर्ने भएको छ । जिल्ला विकास समितिका अनुसार सरकारले विशेष प्राथमिकतामा पारी द्वन्द्व प्रभावित गाउँका रूपमा विकास गर्न थप बजेट पठाएको हो ।


द्वन्द्वका बेला यस गाउँका ६२ जनाको ज्यान गएको थियो । एकै गाविसमा यति धेरैले ज्यान गुमाएको यो संख्या सबैभन्दा बढी हो । सरकारले जेलबाङ गाविसलाई सबैभन्दा बढी मानवीय क्षति बेहोरेको भन्दै नमुनाका रूपमा शान्ति गाउँ बनाउने अभियान चलाएको जनाएको छ । 

युद्धका कारण क्षति भएकाहरूको मनमा भावनात्मक रूपमा मलम लगाउन सरकारले यस्तो प्रकारको प्रयास गरेको हो । उक्त गाउँमा मगर समुदायको बाक्लो बस्ती रहेको छ । युद्धमा ज्यान गुमाउनेमा मगर समुदायका बढी छन् ।

स्थानीय राजनीतिकर्मी टीकाबहादुर बुढामगरका अनुसार गाउँको विकास गर्नका लागि सरकारले अघिल्लो वर्षदेखि थप बजेट दिन थालेको हो । उनका अनुसार गाउँमा पर्यटन विकास, नमुना गाउँ, स्थानीय उत्पादनमा वृद्धि लगायतका पूर्वाधारको विकास गर्ने तयारी भएको छ । स्थानीय मानिसहरूको चाहनाअनुसारको विकास पूर्वाधार निर्माण गरिने गाविसले योजना बनाएको छ ।

जिल्ला पूर्वाधार कार्यालयका इन्जिनियर हरिबहादुर मल्लका अनुसार सरकारको विशेष योजनाअनुसार जेलबाङ गाउँको विकास गर्न मन्त्रालयले प्राविधिक पठाई सर्भे गराएको हो । अघिल्लो वर्ष यस गाविसमा करिब ८० लाखको बजेटबाट सडक निर्माण गरिएको थियो । सडक, अस्पताल, खानेपानी, विद्युत् उत्पादनलगायत स्थानीय रूपमै रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम सञ्चालन गरिने योजना रहेको इन्जिनियर मल्लले जानकारी दिए ।

दुई जना प्राविधिकले गत वर्ष सर्भे गरेका थिए । स्थलगत रूपमा सर्भेपछि गाविसको विकासका लागि १० विषयको पहिचान भएको बुढामगरले बताए । उनका अनुसार गत वर्ष ९ किलोवाटको लघु विद्युत् उत्पादन गरिएको छ । उक्त विद्युत् योजना १ सय २० किलोवाटको क्षमताको छ ।

जेलबाङका चन्द्रबहादुर बुढामगरका अनुसार माओवादी युद्ध सफल बनाउन जेलबाङका मानिसहरूको भूमिका महत्त्वपूर्ण भएकाले सरकारले शान्ति गाउँका रूपमा विकास गर्न लागेको हो । 

'हरेक परिवर्तनमा यस गाउँको भूमिका छ, सरकारले यस गाउँको भावना बुझ्नुपर्छ,' उनले भने । उनका अनुसार जेलबाङसँग सटेको जलजला पर्यटकीय क्षेत्रको विकास गरेर स्थानीय बासिन्दाको जीवनस्तर माथि उकास्नु आवश्यक छ । 

गाविस अनुदान बाहेक सरकारले अघिल्लो वर्ष जेलबाङ गाविसलाई शान्तिगाउँ बनाउन ३५ लाख ५० हजार बजेट दिएको थियो । जिल्ला विकास समिति, गाविसलगायत अन्य संस्थाले जेलबाङमा ८२ शौचालय निर्माण गरिदिएका छन् ।

प्रकाशित मिति: २०६६ माघ ७ ०८:५६

No comments:

Post a Comment