सन्धि

सन्धि

- चाङ चिराग

वर्षा यामका जुकाहरु
घाउहरुको खोजीमा
आइरहेछन् यहाँ
खोजिरहेछन् घाउहरु
कुनै मौसम चाहिन्न जुकालाई
बाह्रै महिना चलायमान बन्छन् जुकाहरु ।

जुकाहरु–
मान्छेलाई मन पराउँछन्
मान्छेको रगत चुस्छन्
र, मान्छेलाई मेट्न चाहन्छन्
घाउ खोज्न जुकाहरु

ओहोर दोहोर गर्छन् र प्रतिष्पर्धा गर्छन्
जुकाहरु पुरानो घाउ बिर्सन्छन्
र नयाँ घाउ बनाउछन्
अनि चुस्छन् रगत ।

देश पनि एउटा मान्छे हो
देशलाई चुसे रगत आउँछ
देशलाई चुसे घाउ बन्छ
र, घाउ बने देशलाई दुख्छ
जुकाहरु सधैं देश चुसिरहेछन्
घाउहरु बनाइरहेछन्
नयाँ र पुराना घाउ बनाइरहेछन् ।

देश एउटा शरीर हो
देशको पनि अनुहार हुन्छ
देशको पनि जिउडाल हुन्छ
त्यसैले त मेचीमा जुका पस्छ
महाकालीमा पनि जुका पस्छ
र रगत चुस्न घाउ बनाउछन् जुकाहरु
अनि देशको शरीरबाट रगत बग्छ
अहिले पनि देशभित्र जुका पसिरहेछन्
चहराइरहेछन् घाउहरु
भत्किरहेछन् खम्बाहरु
र चर्किरहेछन् आस्थाहरु
झरिरहेछन् आँसुहरु
चुडिरहेछन् मनहरु
टुक्रिरहेछन् विचारहरु ।

खम्बा रक्षकहरु अब
भइसके भक्षक
समाउछन् जुकाहरु
च्यात्छन् इतिहासहरु
र रुवाउछन् आमाहरु
थाहा छैन, घाउमा
कुन बेला बसे जुकाहरु
दुखिरहेछ ÷बल्झिरहेछ
र, रोइरहेछन् खम्बाहरु ।

आँसु झार्छ महाकाली
पिरोलिन्छ कोशी–गण्डकी
बिथोलिन्छ पीडाहरुले
पोखिन्छन् व्यथाहरु
त्यसैले त देश छ पूर्वमा
उत्तरमा पनि देश छ
र, देश छ–पश्चिम र दक्षिण पनि ।

हामी त्यही देशका मान्छे हौं–
जुन देशमा जुकाले रगत चुस्दैछन्
जुन देशका खम्बा दुख्दैछन्
र, जुन देशका मान्छे रुदैछन्
यहाँ पनि त देश छ
मान्छेहरु छन्
पहाडहरु छन्
विचारहरु छन्
भावना छन्
हिउँ फुल्ने डाँडाहरु छन्
र, तोरी फुल्ने विशाल तराई छ
हो, हामी त्यही देशका मान्छे हौं ।

जुकाहरु
मेचीबाट पसून् वा कालीबाट छिरुन्
डराउन्नौ हामी
बन्यो होला बेग्लै सन्धि विगत
मान्छे, मान्छे हौं हामी
खोजीहिड्छौ जुका
चुस्न दिन्नौं देशलाई
बस्छौं बरु मुट्टी
किनभने प्यारो छ देशको रगत
र, प्यारो छ हाम्रो भूमि
प्यारा छन् हाम्रो देशका मान्छेहरु
र प्यारो छ हाम्रो देशको आकाश ।

रोल्पा ।
समकालीन साहित्य डट कम मा चाङ चिरागको कविता प्रकाशित भो ।
on- शुक्रबार, 9 माघ, 2071
http://www.samakalinsahitya.com/index.php?show=detail&art_id=5061

No comments:

Post a Comment