मान्छे

कविता/चाङ चिराग

मान्छे

गाउँ र सहरमा
यहाँ मान्छेहरु छन्
यता र उता
वर अनि पर
हुलका हुल छन् मान्छेहरु
भिन्न रङ्गका
भिन्न विचारका
भिन्न आचरणका
र, भिन्न जातका
छन् मान्छेहरु ।


जसरी सर्छ सूर्य घाम छोड्दै
मान्छेहरु हिडिरहेछन् मेट्दै पाइलाहरु
सँगसँगै र एक्लै
मनमा विचार बोकेर
दुःख ओढेर शरीरमा
र, संसार अड्याएर टाउकोमा
सुस्ताइरहेछन् मान्छेहरु
उग्राइरहेछन् मान्छेहरु ।

उकालोमा उक्लने
दौडिने ओरालोमा
लम्पसार सुत्ने तेर्र्सोमा
सबै मान्छे हुन् ती
उक्लनेहरु पहिले ओरालोमा थिए
ओरालोमा दौड्ने पहिले उकालो थिए
र, उक्लदै थिए तेर्र्सोमा सुत्ने पहिले
ती तिनै मान्छे हुन्
जो छन् एक्लै र सँगसँगै
र, पढिरहेछन् पुस्तक विगतको ।

मान्छे
दौडिरहेछ मित्र बिनाउदै
दुःख र सास्ती बाँडिरहेछ मान्छे
हिडिरहेछ बाटैभरि
भेटिरहेछ मित्रहरु
तरपनि, आँत भरिएको छैन
बुझेको छैन चित्त
किनकि उसले खोजिरहेछ साथी
हुल छ मान्छेहरुको
बथान छ मित्रहरुको
तर
भेटिदैन मित्र
देखिदैन मित्र
टाढा टाढा
क्षितिजसम्म पनि ।

२०७१ माघ २९, रोल्पा






1 comment:

  1. वाऽऽऽऽ कविता ऽऽऽ कलम दौडिरहेको छ । दौडिरहोस् निरन्तर

    ReplyDelete