सडकले जोडिन चाहन्छन् थबाङवासी/ Kashiram Dangi

रोल्पाको थबाङवासीलाई रुकुमले सडकसँग जोडे पनि उनीहरूलाई आफ्नै जिल्लाको सडकले अझै जोडिसकेको छैन । स्थानीयले जिल्ला सडक सञ्जालमार्फत आफूहरू चाँडै जोडिने आशा व्यक्त गरेका छन् । 

सशस्त्र द्वन्द्वको उद्गमथलो थबाङमा अघिल्लो साता रुकुमको महतबाट ग्रामीण सडक पुगेको छ भने दशकअघि निर्माण थालिएको दाङ-रोल्पा-रुकुम पुग्ने सडक थबाङ पुग्न अझै केही वर्ष लाग्ने भएको छ । सरकारले ठूलो लगानी गरिसकेको सहिद मार्ग निर्माण आयोजना निकै सुस्त गतिमा निर्माण भइरहेकाले दुर्गम गाउँ थबाङलगायतका गाउँमा चाँडै सडक पुर्‍याउने उद्देश्य अझै अधुरै रहेको छ । 

दशकअघिदेखि सरकारले दाङबाट रोल्पा हँुदै रुकुमसम्म सडक पुर्‍याउन सहिद मार्ग निर्माण सुरु गरेको थियो । रोल्पाको लिबाङमा मुख्य कार्यालय रहेको उक्त आयोजनाले अहिलेसम्म करोडौं खर्चिसकेको छ । कार्यालय प्रमुख सरोज प्रधानका अनुसार रोल्पा हुँदै थबाङमा सडक पुर्‍याउन तीव्र गतिमा काम भइरहेको छ । 

थबाङ निवासी पूर्वसांसद सन्तोष बुढामगरले थबाङमा सडक पुर्‍याउन सके यो गाउँलाई राष्ट्रिय राजमार्गसँग जोड्न सकिने बताए । 'हामीले पञ्चायतकालदेखि नै सडक माग गर्दै आएका थियौं । अझै हाम्रो माग पूरा भएको छैन,' उनले भने । २०६२/०६३ पछि बनेका सरकारले थबाङमा विकास निर्माण तथा पुनः निर्माणका योजना सञ्चालन गरे । शान्ति मन्त्रालयका तर्फबाट विकास निर्माणका योजना सञ्चालन गर्न थबाङ करिब ७ करोड खर्चेको छ । सडक पुर्‍याउन सहिद मार्ग आयोजना, जिल्ला विकास समिति र सडक डिभिजन कार्यालयले योजना अघि सारेका छन् । 

माओवादीका जिल्ला सहसंयोजन तथा थबाङवासी जयप्रकाश रोका मगरले थबाङमा राज्यले सडक पुर्‍याउन सके अरू विकासका सम्भावना बढ्न सक्ने विश्वास गरे । 'सडक हाम्रो पहिलो माग हो तर सडक थबाङ पुर्‍याउन राज्यले निकै ढिला गरेको छ,' उनले भने । उनका अनुसार थबाङमा सडक पुग्न सके केन्द्रीय राज्य सत्तासँग आफूहरू प्रत्यक्ष रूपमै जोडिने र यसको सकारात्मक प्रभाव धेरै हुन सक्छ । थबाङवासीले आफ्नै जिल्लाभित्रैबाट थबाङमा सडक पुग्नुलाई विकासको मुख्य उपलब्धि मानेका छन् । सहिद मार्ग आयोजनाले केही वर्षभित्र सडक थबाङमा पुग्ने जनाए पनि सडक मार्गमा पुल तत्काल निर्माण गर्न नसकिने हुँदा अझै केही वर्ष जोड्न सक्ने सम्भावना न्यून छ । 

पहिलोपटक थबाङमा रुकुमबाट सडक जोडिँदा नै थबाङवासी खुसीले गदगद बने । 'सडकबाट गाडी आइपुगेपछि पहिलोपटक गाडी हेर्नेहरू झुम्मिने छन्,' थबाङस्थित वीर बलभद्र उच्च माविका एक छात्र भन्छन्, 'विकासको आशा गरेकालाई सडकले केही हदसम्म सन्तुष्ट बनाउन सक्नेछ ।'

माओवादी युद्धको उद्गमस्थल थबाङमा सडक पहिलोपटक पुग्नुलाई स्थानीय स्वयंले समेत खुसीसाथ हेरेका छन् । 'थबाङलाई सधैं राज्यले 'विद्रोही' भनेर बुझ्दै आएको छ । हामी सधैं युद्ध मात्र चाहन्नौं । शान्तिका लागि विकास पनि चाहिन्छ,' जयप्रकाश भन्छन्, 'राज्यले थबाङ र यहाँका जनतालाई सकारात्मक दृष्टिकोणले हेर्न सकोस् भनेर हामीले आशा गरेका छौं ।' 

लामो समय थिलोथिलो बनेको थबाङमा सडक, शिक्षा, साना उद्योग, स्वास्थ्य, खानेपानीलगायत योजनाको खाँचो छ । दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै थबाङसम्म निर्माण गरिने सडकमध्ये कुरेली खण्डमा निर्माण भइरहेको छ । घर्तीगाउँसम्म मात्र सडक आवतजावत छ । घोराहीदेखि घर्तीगाउँ ९३ किमि छ । थबाङसम्म १ सय ३९ किमि छ भने यो सडक रुकुम मुसिकोट पुग्न १ सय ७७ किमि निर्माण गर्नुपर्नेछ । 

रोल्पा र रुकुमलाई युद्धका कारण विकास निर्माण गर्न उक्त अवधिमा नसकिएको निष्कर्षसहित दुई दशक अघिदेखि सहिद मार्ग सडक आयोजनाको अवधारणा लिइएको हो । 

होलेरी हुँदै थबाङ सडक पुर्‍याउन तीव्र गतिमा काम भइरहेको छ । पुल र सडक निर्माण गर्न करोडौंको लगानीमा नियमित काम भइरहेको आयोजनाले जनाएको छ । घोराही खोला, घर्तीगाउँ खोला, दुई 

खोली, गर्‍यामझिम खोला, कुरेली खोला तथा थबाङ खोलामा पुल निर्माण गर्न नसकिए वषर्ायाममा सडक सञ्चालन गर्न मुस्किल हुनेछ ।
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=317954
 On kantipur daily प्रकाशित मिति: २०७० चैत्र २१ १०:११

No comments:

Post a Comment