सडक मर्मत गर्न बजेट अभाव


काशीराम डाँगी
गाउँ-गाउँमा निर्माण गरिएका सडकको मर्मत गर्न बजेट अभाव भएपछि उपभोक्ताहरूले चन्दा संकलन थालेका छन् । गाविस तथा जिविसले ट्रयाक खनिदिएर सडक सुचारू गरिए पनि मर्मत हुन नसक्दा जीर्ण बन्दै गएका छन् । 

दर्जनांै सडक यति बेला निकै जीर्ण अवस्थामा छन् । कतिपय सडकहरू सामान्य मर्मत गरेर सञ्चालन गर्न सक्ने अवस्थाका छन् । कतिपयमा भने ठूलै खर्च जुटाएर खन्नुपर्ने खालका छन् । दशकअघि निर्माण गरिएको तथा मर्मत गर्न नसकिएको पूर्वी रोल्पाको एक सडकलाई मर्मत गर्न स्थानीयबासीले नयाँ जुक्ति निकालेका छन् । सुलिचौर-थबाङ सडक खण्ड अन्तर्गत सेरम सडक खण्डलाई मर्मत गर्न आर्थिक समस्या भएपछि सरोकारवाला आधा दर्जन गाविसले सडक प्रयोग गरेबापत शुल्क लिएर मर्मतसम्भार कोष खडा गरेका छन् । 

सरकारले गाउँ-गाउँमा करोडौं खर्च गरेर सडक खनेको छ । तर ती सडकको उचित समयमै मर्मत नहुदा कतै सडक पुरिदै र कतै पहिरोमा पर्दै नाम मेटिदै गएको छ । सरकारले स्थानीय निकायमार्फत निर्माण गरिएका सडकको मर्मत गरी यातायातका साधन सुचारू गर्ने योजना ल्याउन सकेमा गाउँ-गाउँमा सडक पुर्‍याई सञ्जाल जोड्ने सरकारको लक्ष्य प्राप्त गर्न सकिने थियो । 

सडक खन्न स्थानीय निकायले करोडौं बजेट खर्चेपनि मर्मत सम्भारका लागि भने बजेट छुट्याउँदैनन् । यसले गर्दा ट्रयाक खनिएको सडकको स्तरोन्नति गर्न र समय समयमा मर्मत गर्न आर्थिक अभाव हुँदै आएको छ । गाविस र जिविसले सडकको स्तरोन्नति र मर्मतका लागि भन्दा नयाँ सडक खन्न बजेट प्राथमिकता दिंदै आएका छन् । 'यसैले हामीले नयाँ जुक्ति निकाल्नु परेको हो ।' सुलिचौर-थबाङ सडक अन्तर्गत सेरम खण्डका उपभोक्ता समितिका संयोजक उवाका गोवर्द्धन घर्तीमगर भन्छन्, 'सहयोगका लागि जिविसको ढोकासम्म पुग्यौं तर बजेट छैन भन्ने जवाफ पाइयो ।' समितिले जिविसको परामर्शमा शुल्क उठाउने र कोष जम्मा गर्ने योजना भने अघि सारेको छ । समितिले यस प्रकारको कोषमा जम्मा गरेका शुल्कको दोब्बर रकम जिविसले दिने घोषणा गरेर गाउँलेलाई हौस्याएको छ । 

समितिको निर्णयमा मिझिङ, फगाम, बडाचौर, हार्जङ, सेरम, जैमाकसला, जेलबाङ, स्युरी, गुम्चाल, उवा, गा लगायतका गाविसका सर्वसाधारणले सहमति जनाएका छन् । समितिले वर्षेनी कम्तीमा ३ देखि ५ लाख रकम जम्मा गर्ने अपेक्षा गरेको छ । स्थानीय विकास अधिकारी हिरालाल रेग्मी भन्छन्, 'मर्मतका लागि पर्याप्त बजेट दिन नसकिने हँुदा यो उपाय सुझाएका हौं ।' जिविसले विकास बजेट तथा आन्तरिक स्रोतबाट जुटाएर कोषमा रकम थप्ने योजना बनाएको छ । समितिका सदस्य एवं युवा पुष्टमान घर्तीमगरका अनुसार पूर्वी क्षेत्रमा विकास बजेट निकै कम पठाइने गरेकाले स्थानीयबासीले आफ्नै सक्रियतामा सडक मर्मत गर्ने योजना ल्याएका हुन् । यो प्रयासले निरन्तरता पाएमा स्थानीयलाई राहत मिल्नेछ । 'पूर्वमा नेता कम छन्, त्यसैले विकास योजना बनाउदा र बजेट वितरण गर्दा पक्षपात गरिन्छ,' उनले दुखेसो पोखे । 

पूर्वी रोल्पाकै मेरुदण्ड मानिएको सुलिचौर-थबाङ सडकको निर्माण जर्मन सहयोग नियोग (तत्कालीन जीटीजेड र अहिले जीआईजेड) ले गरेको हो । 
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=318256
प्रकाशित मिति: २०७० चैत्र २४ ११:१७

No comments:

Post a Comment