जलजला क्याम्पस र सुधारका सवाल/ Article


रोल्पाको जलजला बहुमुखी क्याम्पस जिल्लाकै जेठो क्याम्पस हो । यो बाहेक रोल्पामा अरु दुई वटा क्याम्पस पनि छन् । नव नेपाल क्याम्पस जुगारमा रहेको छ र अर्को क्याम्पस थबाङमा । आर्थिक अवस्था र राज्यको सहयोग तथा पहुँचका हिसाबले जलजला क्याम्पस नै अग्रस्थानमा रहन सक्छ । छ पनि । अर्को पक्षबाट भन्दा जिल्लाकै जेठो र सदरमुकाममै रहेको जलजला क्याम्पसप्रति सबैका आँखा पर्नु स्वभाविक हो । त्यसैको एउटा कारणले हो, जलजला क्याम्पसको भवन नयाँ बन्नु । सम्भवतः जिल्लाकै ठूलो लगानीमध्येको यस क्याम्पसको निर्माण भइरहेको छ । भारतीय सहयोगमा निर्माण थालिएको यस क्याम्पसको निर्माण कार्य पूरा नभएपनि सदरमुकाम आउने बाहिरका जो कोहीले क्याम्पस भवनलाई देखेर सोध्छन्, –यो कुन भवन हो ?
करिब दशक अघि स्थापना गरिएको क्याम्पस आर्थिक रुपमा अहिले सबल बनेको छ । सुरुदेखि सरकारी लगानीमा यस 

क्याम्पसलाई सहयोग मिल्दै आएको हो । तर यत्तिले नपुग्ने
निश्चित भएपछि गत असोज महिनामा क्याम्पसको अगुवाईमा ‘जलजला रोल्पा धार्मिक महोत्सव’ आयोजना गरेर दान दातव्यबाट करोडौं रकम संकलन पनि गरिएको छ । जलजला रोल्पा धार्मिक महोत्सव सम्पन्न भएबाट थुप्रै पक्षको सिकाई भएको छ । क्याम्पसको पुणित कार्यका लागि उक्त महोत्सवबारे सरसर्ती समीक्षा गर्नु अत्यावश्यक भएको यस सन्दर्भमा शिक्षाप्रति चासो राख्ने, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला सबै सर्वसाधारणले समेत यस विषयमा व्यापक चासो राखी जानकार हुनु पर्ने खाँचो भइसकेको छ । यी लगायत टुँडिखेल, चोक, चिया पसल, राजनीतिक दलका बैठक, नागरिक समाज भेला एवं विद्यार्थी भेटघाटका अवसरमा उठिरहेका विविध पक्षका सवालका बारेमा यस लेखमा छोटो टिप्पणी गर्ने प्रयास गरिएको छ ।

रोल्पामा क्याम्पसको आवश्यकता :
रोल्पामा क्याम्पस किन चाहिन्छ ? सम्भवतः यस्तो खालको प्रश्न गर्नासाथ जिल्लाको विकासलाई जोडेर थप बहस गर्न सकिएला । तैपनि यो प्रश्न एउटा विशुद्ध विद्यार्थीलाई सोधिएमा जवाफ आउनेछ, विद्यार्थीलाई पढ्न सजिलोका लागि रोल्पामा क्याम्पस हुन आवश्यक छ भन्ने । यति मात्र होइन, हरेक जिल्लामा थुप्रै क्याम्पस भए जस्तै रोल्पामा पनि क्याम्पस हुन आवश्यक छ भनी तर्क गर्न सकिएला । अरु थुप्रै प्रसंगहरुलाई पनि यसरी नै जोड्न सकिन्छ कम्तीमा बहस सिर्जना गर्नका निम्ति ।
तर सत्य एउटै हो कि रोल्पामा पनि क्याम्पस हुनुपर्छ । त्यसैले दशक अघि पहिलो पटक यसको अवधारणा ल्याइएको थियो । दशक पछि पनि आर्थिक अवस्था कमजोर भएपछि थुप्रै तरिका वा विधिबाट जस्तै महोत्सव वा महायज्ञ आयोजना गरेर आर्थिक संकलन गरियो । धेरै हदसम्म यो कार्य सफल पनि भएको छ । यस अर्थमा सामान्य विद्यार्थी र सरोकारवालाको चाहना रोल्पामा क्याम्पस निर्माण गर्नु राम्रो कार्य हो र हुनुपर्छ भन्ने हो ।
बितेको तीन/चार दशक अघिका विद्यार्थीलाई राम्रैसँग थाहा होला, आफ्नै जिल्लामा क्याम्पस हुनु र नहुनु बीचको भिन्नताका बारेमा । विद्यालय तह उत्तीर्णपछि उच्च तहको शिक्षा अध्ययन गर्न छिमेकी जिल्ला वा राजधानी पुग्नुपर्ने बाध्यता थियो त्यसबेला । तैपनि शिक्षा आर्जन गर्ने चाहनाबीच त्यसबेलाका कैयौं विद्यार्थी छिमेकी जिल्लादेखि राजधानीसम्म नै पुगे र उच्च शिक्षा हासिल गरे । तत्कालीन पञ्चायती राजनीति र बहुदल प्राप्तपछिको छोटो समयमै यसै जिल्लाबाट सशस्त्र युद्ध सुरु हुनुले पक्का पनि हामीकहाँ प्रजातान्त्रिक पद्धति वा बहुदलीय प्रतिष्पर्धा फैलन वा मौलाउन नपाएको सत्य हो । यस अर्थमा पनि शिक्षा जस्तो सामाजिक चेतना प्रवाह हुने क्षेत्रको पनि विकास हुन पाएन र जिल्ला यस प्रसंगले पनि खुम्चिन बाध्य भएको थियो । यो कुरा कसैसामु छिपेको छैन ।
अब प्रसंग उठ्छ, रोल्पामा क्याम्पसको आवश्यकता र यसबाट जिल्लाबासीले पाउने लाभ के हुने भन्ने बारेमा । हुन त रोल्पा जिल्लाको संरचना गरिएको त्यति लामो समय भएको छैन । विक्रम संवत् २०१८/१९ सालपछि मात्र रोल्पाले जिल्लाको मान्यता पाएको थियो । त्यसो भएकाले त्यस अघिको समयलाई गणना नगर्ने हो भने त्यस यताको विकासक्रम वा गतिविधिलाई मात्र नजिकबाट नियाल्नु जायज हुनेछ । कठोर पञ्चायती व्यवस्थामा पनि तत्कालीन पञ्चायती राजनीतिसँग प्रभावशाली रुपले ‘नेतृत्व’ हुन नसक्नुबाट जिल्लाको विकासलाई हेर्दै र समीक्षा गर्दै आएको सन्दर्भ पनि छ । सम्भवतः छिमेकी जिल्लाका जस्तै केन्द्रीय राजनीतिमा बहुसदस्यीय प्रतिनिधित्व हुन सकेको भए पञ्चायतकालमा पनि रोल्पाको विकास निर्माण कार्यले अझ गति लिन सक्ने थियो भन्ने कुराको दुईमत हुन सक्दैन ।
बहुदलीय व्यवस्थाको पुनरागमन र सशस्त्र युद्धपछिको शान्तिप्रक्रियाको अवस्थासम्म आइपुग्दा जिल्लाको शैक्षिक विकासको गति अपेक्षा अनुरुप बढ्न नसक्नु आफैमा लाजलाग्दो विषय बनेको छ । किनभने शिक्षाको पर्याप्त विकास भएको भए धेरै रोल्पालीले लोकसेवा, मेडिकल शिक्षा, सुरक्षा क्षेत्र वा शैक्षिक पेशामा अवसर पाइसकेका हुन्थे । त्यसैले सर्वत्र प्रश्न उब्जिएको छ –कति जना रोल्पाली चिकित्सक बने ? कति जना जिल्लाबासी सरकारी अधिकृत छन् ? कति जना रोल्पाली सुरक्षा क्षेत्रको माथिल्लो तहमा पुगेका छन् ? कति जना रोल्पालीले कानून विषयमा उच्च शिक्षा हासिल गरेका छन् ? कति जना रोल्पाली क्याम्पस प्रमुख बन्नलायक छन् वा राजनीतिक दलका कति जनाले उच्च शिक्षा प्राप्त गरेका छन् ? अहिलेको अवस्थालाई समीक्षा गरी हेर्ने हो भने माथि उल्लेखित यी क्षेत्र वा विषय वा तहमा रोल्पालीको पहुँच अभाव भएकै कारणले हाम्रा निर्णयहरु प्रभावित भएका त छैनन् ? गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । सम्भवतः जलजला क्याम्पसको व्यवस्थापनका विषयमा यही प्रसंग जोडिएको छ । यहाँ एउटा क्याम्पसको मात्र होइन, अन्य थुप्रै विषय छन्, जसबारे हाम्रो समग्र समाज वेखबर रहँदै आएको छ । हामीले यी विषयलाई आधार बनाएर सोच्यौं भने मात्र जिल्लाको विकास निर्माण वा शैक्षिक क्षेत्रको विकास अघि बढ्न सक्नेछ ।
कस्ता बनाउने हाम्रा क्याम्पस ?
हामी सबैले खुलेर भन्न सक्छौं क्याम्पस वा शैक्षिक क्षेत्र ज्ञानका भण्डार हुन् । यसो भनेको पनि सुनिन्छ–शैक्षिक क्षेत्रहरु कला, संस्कृति, मर्यादा वा गुणका आधार क्षेत्र हुन् । तर के यसै अनुसार शैक्षिक क्षेत्रको आदर भएको छ ? वा क्याम्पस वा अरु शैक्षिक क्षेत्रले के सही अर्थमा ज्ञान फैलाउन सकेका छन् ? त्यसमा पनि रोल्पामा क्याम्पसको के कस्तो आवश्यकता रहेको छ भन्ने विषयमा बहस थाल्नु आवश्यक छ । सबै जस्तै शिक्षा क्षेत्रबाट पनि पछि पारिएको जिल्लामा शैक्षिक विकासको निकै खाँचो छ । हुन्छ ।
प्रसंग केही साता अघिको हो । लिबाङको टुँडिखेलमा एकजना युवाले मेरा सामु प्रश्न तेर्साए जलजला क्याम्पसका बारेमा । उनका थुप्रै प्रश्नमध्ये केही यस्ता थिए । क्याम्पसको रकम कति छ ? बैठक किन बस्दैन ? महोत्सवबाट कति रकम संकलन गरियो ? त्यो रकम कहाँ खर्च भयो ? के सबैले रकम दिएकै हुन् ? व्यवस्थापन, क्याम्पस कर्मचारी वा महोत्सव आयोजक समितिको बैठक किन बस्दैन ? पैसा उठाएपनि क्याम्पसमा विद्यार्थी किन कम छन् ? आदि–इत्यादि ।
यी प्रश्न सुनेर म पनि आश्चर्यमा पर्नु स्वभाविक थियो । कारण, म जस्ता शुभचिन्तक थुप्रैले यही प्रश्नका जवाफ खोजिरहेका छन् । यही मेसोमा अर्का एक मित्रले भनेका थिए कि क्याम्पसलाई सहयोग गर्न सदस्य बन्यौं, महोत्सव सफल बनायौं । तर त्यसको जानकारी सार्वजनिक रुपमा भएन भन्ने उनको अर्को गम्भीर गुनासो थियो । जलजला क्याम्पसका संस्थापक सदस्यमध्येका एक जिविस रोल्पाका पूर्व सभापति दलबीर पुनले अघिल्लो साताकै भेटमा सोध्नुभएको थियो । उहाँले मलाई, के छ खबर जलजला क्याम्पसको भनेर सोध्नुभएको थियो । प्रसंग तिनै विषय उठेका थिए यसबीचमा पनि ।
अन्तमा, मलाई पनि प्रश्न गर्न मन लाग्यो, क्याम्पसका बारेमा यतिधेरै प्रसंग वा प्रश्न उठेपछि के जिल्लामा कुनै सरोकारवाला छैनन् जसले यसबारे सोधीखोजी गर्न सक्छन् । जलजला क्याम्पस मात्र होइन, अरु क्याम्पस, उच्च मावि, विद्यालयहरु वा अरु सार्वजनिक सरोकारका विषयमा चासो राख्ने नागरिक समाज नभएकै हो ? निकै कमजोर अवस्थामा पुगेको जलजला क्याम्पसको आर्थिक व्यवस्थापन अहिलेसम्म जाग्न नसक्नुको कारण के हुन् ? महोत्सव आयोजना गर्न र जिल्ला विकास समिति मार्फत् यसअघि लाखौं रकम विनियोजन गर्न सकेका राजनीतिक दलहरुले किन चासो घटाए ? आशा छ, सबैको चासो यसतर्फ केन्द्रित हुनेछ । यी प्रश्नहरुका जवाफ खोज्नुपर्ने बेला आएको छ । जिल्लाको शैक्षिक विषयलाई माथि उठाउन सोच्नु पर्ने बेला आएको छ ।
थबाङको तीतो यथार्थ र जलजला क्याम्पस प्रसंग :
केही वर्ष अघि पत्रकारिताको सिलसिलामा थबाङ पुगेका बेला थबाङका शैक्षिक अगुवा धनबहादुर रोकासँग भेट्ने अवसर मिल्यो । उच्च शिक्षा आर्जनपछि पश्चिमाञ्चलका केही जिल्लामा पुगेर उच्च मावि र क्याम्पसमा पढाएको अनुभव रहेछ उहाँसँग । थबाङबासीले क्याम्पस र उच्च माविको नेतृत्व गर्न आफ्नै गाउँका शैक्षिक अगुवालाई हार्दिकताकासाथ उहाँलाई बोलाएर ल्याएछन् ।
तर यस स्तम्भकारसँग धनबहादुरले भन्नुभएको थियो, ‘मैले क्याम्पसमा पढाउन छोडिदिएँ । अहिले घरमै बसेको छु ।’ आफ्नै गाउँको क्याम्पस र उच्च माविमा पढाउन छोड्नुको कारण जान्ने मेरो मनभित्र निकै चासो बढ्यो । प्रश्न सोधेँ र मैले कारण पत्ता लगाएँ । थाहा पाएपछि निकै दुःखी भएको मेरो मन अझै सन्तुष्ट हुन सकेको छैन ।
कारण कुनै ठूलो वा विशाल प्रसंगसँग जोडिएको थिएन । कारण एउटा मात्र थियो–कुरा नमिल्नु । छिमेकी जिल्लाहरु खासगरी गुल्मी र म्याग्दीमा लामो समय अध्यापन गरेका धनबहादुरले जे जति योजना अघि सार्नुभयो त्यो सफल हुने कुनै लक्षण नभएपछि बस्नुको अर्थ नदेखी उहाँले विद्यालय नै छोड्नुभयो । उहाँले त्यस भेटमा भन्नुभएको थियो–‘मेरा सबै योजना सफल बनाउन स्थानीय र युवाको सहयोग भएन र म ‘ब्याक’ भएँ ।’ बस्, यही हो कारण ।
यस विषयलाई यसरी पनि भन्न सकिन्छ कि स्थानीयको चासो र सहयोगविना कुनै पनि काम अघि बढ्न र सम्पन्न हुन सक्दैन ।
निश्कर्ष :
सदरमुकाममा रहेको र पहिलो क्याम्पस भएकाले जलजला बहुमुखी क्याम्पसले सिंगो रोल्पाकै शैक्षिक नेतृत्व गर्न सक्नुपर्छ । जिल्लामा पर्याप्त विकास, सामाजिक न्याय र उच्च प्रकारको सामाजिक नेतृत्वको खाँचो भएजस्तै शैक्षिक क्षेत्रमा पनि खास प्रकारको ‘नेतृत्व’ अभाव छ । आशा गरौं जलजलाले यस प्रकारको नेतृत्व ग्रहण गर्नेछ ।
तर त्यसका निम्ति क्याम्पस व्यवस्थापन, प्रशासन र क्याम्पसभित्र अध्ययन गर्ने विद्यार्थीले जान्नै पर्ने, ग्रहण गर्नैपर्ने र अनुशरण गर्नैपर्ने थुप्रै विषयवस्तु छन् । कर्मचारी नियुक्त गर्दा, शिक्षक नियुक्त गर्दा, व्यवस्थापन गठन गर्दा क्याम्पसले गैर राजनीतिक प्रकारको नीति अबलम्बन गर्नुपर्छ । यो कुनै शर्त नभई शैक्षिक क्षेत्रको मर्यादित आधारभूत ‘अनुशासन’ हो । साथै क्याम्पसलाई पारदर्शी बनाउने, समयानुकल विषयको पढाई सुरु गर्ने र क्याम्पस शैक्षिक ‘मन्दिर’ हो भन्ने व्यवहार देखाउन सक्नैपर्छ । त्यसो भयो भने जलजला क्याम्पसमा विद्यार्थी एकाध जना होईन हजारौं पुग्नेछन् । क्याम्पस प्रमुखले यसमा विशेष ध्यान दिन आवश्यक छ । नागरिक समाज, राजनीतिक दल र प्रशासनिक निकायले क्याम्पसको सही व्यवस्थापन, परिचालन र शैक्षिक उत्पादनका लागि क्याम्पसलाई निरन्तर झक्झकाउने, दवाव सिर्जना गर्ने र आवश्यक परे अगुवाई गर्न जरुरी छ । यति भए जलजला क्याम्पसले सबैको साथ पाएर अघि नवढ्ने कुरै भएन । सबैको साथ पाउन सक्ने वातावरण निर्माणका लागि क्याम्पस प्रशासन, व्यवस्थापन र स्वयं कर्मचारीले सिर्जनशील भएर सोंच्ने कि ?
(सनस्टार साप्ताहिकबाट) and on http://www.nepalioutlook.com/10738/#sthash.ZrILKvaM.dpuf

No comments:

Post a Comment