रोल्पा पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने अभियान/Sarsafai arcicle.

“एक घर एक चर्पी रोल्पावासीको सान, पूर्ण सरसफाईयुक्त जिल्ला हाम्रो पहिचान” भन्ने मुख्य नारा सहित रोल्पामा सुरु भएको खुला दिसा मुक्त अभियान कार्यक्रम सफल भएको छ । जिल्लाभित्रका सबै घरहरुमा शौचालय निर्माण भइसकेका छन् । यतिबेला रोल्पा जिल्लाका हरेक गाउघरमा चर्चाको विषय बनेको छ । अब जिल्लालाई पूर्ण सरसफाईयुक्त बनाउने योजना सफल बनाउने हो । जिल्लाका सबै घरहरुमा शौचालय निर्माण भइसकेकाले अबको दोस्रो चरण सरसफाई अभियान सफल बनाउनेतर्फ सम्पूर्ण पक्ष लागेको छ ।
रोल्पामा यो अभियान यसै सफल भएको भने होइन । खुला दिसामुक्त क्षेत्र बनाउन र सरसफाई विषयलाई यहाँका सबैले साझा सरोकार बनाएकाले सफल भएको हो । यसका लागि सम्बन्धित पक्षले कडा मेहनत समेत गरे । तेह्रौं रोल्पा जिल्ला परिषदबाट विभिन्न सरोकारवालाहरुको छलफलबाट जिल्लालाई सफा बनाउनबारे पहिलो पटक साझा मुद्दाका रुपमा योजना अघि सारिएको थियो । जिल्ला परिषदको मिति २०६५ पुस ३ गतेको बृहत् भेलाले रोल्पा जिल्लालाई सन् २०१५ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने निर्णय पहिलो पटक गरेको थियो । यही अनुसार जिल्ला, गाविस तथा अन्य सरोकारवालाहरुले साझा योजना बनाएर गाउ जागरण सुरु गरिएको थियो ।
जिल्लामा भएका ४९ (तत्कालीन अवस्थामा ५१) गाविसमै सार्वजनिक महत्वको विषय बनाइएको हो खुला दिसामुक्त (ओडीएफ) अभियानलाई । पछि नगरपालिका गठन भएपछि सदरमुकाम लिबाङमा पनि यस विषयलाई पहिलो प्राथमिकताको छलफल एवं बहसको विषय बनाइएको हो । सर्वसाधारण, महिला, दलित, जनजाति समुदाय, शिक्षक, युवा, बृद्ध–बृद्धा तथा कर्मचारी समेतको महत्वपूर्ण सहभागितामा रोल्पाभर खुला दिसामुक्त अभियान कार्यक्रम चलाइएको थियो । यसका लागि जिल्लास्थित राजनीतिक दलका नेताहरुको महत्वपूर्ण चासो रह्यो ।
कुनै बेला रोल्पाका गाउहरुमा पुग्ने जोकसैलाई शुद्ध खानेपानी पाउन र लुकेर दिसा पिसाब गर्न मन लागेपनि त्यो असंभव थियो । कारण, गाउमा शौचालय थिएनन् र घर नजिक खानेपानीको धारा थिएनन् । तर अहिले त्यो अवस्था फेरिएको छ । यतिबेला गाउघरमा शुद्ध पानी पिउनुपर्छ र शरीरबाट अनिवार्य निस्कने दिसा पिसाबलाई व्यवस्थित लुकाउन पनि उचित स्थान (शौचालय) को आवश्यकता पर्छ भन्ने कुरा साना बालबालिकाले पनि जान्ने गरेका छन् । फलस्वरुप जिल्लाका सबै गाविस र नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषित गरिसकिएको छ । यस अभियानका लागि जिल्लाभरका विभिन्न सरोकारवालाहरुको व्यापक सहभागिता रहेको थियो ।
खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय रोल्पका अनुसार जिल्लावासीले सरसफाई अभियानलाई उच्च प्राथमिकतासाथ अघि सारेका छन् । सबै पक्षले एकै साथ अभियान चलाएकाले खुला दिसामुक्त जिल्ला घोषित गर्न र पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने तयारी भईरहेको छ । राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम तथा सरोकारवाला सबैको एक साथ प्रयासले यो काम संभव भएको सबैको बुझाई रहेको छ ।
रोल्पा जिल्लामा सरसफाई एवं खुलादिसामुक्त क्षेत्र बनाउने अभियानलाई साथ दिने थुप्रै सरोकारवालामध्ये निम्न पक्ष अग्र पंक्तिमा आउछन् ।
सरसफाई अभियानमा राजनीतिक दलहरु 
जब गाउघरमा सरसफाईबारेमा जहाँजहाँ कुरा चल्यो वा गाउलाई खुला दिसामुक्त क्षेत्र बनाउने चर्चा चल्यो, स्थानीय गाउका नेताहरु त्यो छलफलमा अग्रपंक्तिमा उभिन पुगे । कतिसम्म भने आफ्नो घरमा पहिलो पटक शौचालय निर्माण गर्न राजनीतिक दलका कार्यकर्ताले प्रतिवद्धता गरे । शौचालय निर्माण गर्न नसक्ने सर्वसाधारणलाई सहयोग गर्ने पनि उनीहरु अघि सरे । दलका स्थानीय नेताहरुले यस विषयलाई गम्भीरतापूर्वक लिएर गाउघरमा सरसफाई अभियान बढाउने गरे र यसबाट चेतनामूलक प्रभाव व्यापक रुपमा फैलियो । यो विषयमा ग्रामीण तहमा कार्यरत उनीहरुले जिल्ला तहका नेतालाई समेत जानकारी गराए
दलका जिल्ला स्तरीय नेताहरुले सर्वदलीय बैठक बसेर खुला दिसामुक्त अभियानलाई सफल बनाउन सुरु अवधिमै विशेष निर्णय गरे । दलका नेताहरु गाउमा पुग्ने र पार्टीका छलफल र कार्यक्रमहरुमा पनि यस विषयमा चर्चा गर्ने अभियान सुरु भएपछि गाउलेहरुमा थप ऊर्जा मिल्दै गएको हो । एक प्रकारले दलका कार्यकर्ता र नेताले शौचालय बनाउने र सरसफाईमा ध्यान दिने विषयलाई पार्टीको काम जत्तिकै प्राथमिकता दिएर गरे । हरेक गाविसलाई खुला दिसा मुक्त घोषित गर्ने अभियानमा पार्टीका जिल्ला तहका नेता आफै उपस्थित भए । त्यस अभियानलाई सघाए र अभियानलाई थप साझा बनाउन प्रभाव जिल्लाभर बनाउन सहयोग गरे ।
दलका नेताहरुको समन्वयमा पार्टीका केन्द्रीय नेताहरुले समेत गाउमा आए । उनीहरुले गाउमै पुगेर सरसफाई गर्ने अभियानबारे ‘भाषण’ गरे । यति मात्र होइन, गाउ जागरण जस्तै अभियान थाले । यसका लागि जिल्लामा क्रियाशील साना ठूला करिब ८ दलका जिल्ला तहका नेताहरुले ओडीएफ तथा सरसफाई कार्यक्रमलाई उच्च प्राथमिकता दिएर कार्यक्रमलाई सघाएका थिए । ओडीएफ कार्यक्रमका लागि रोल्पाका गाउसम्म मन्त्री, केन्द्रीय नेता, उच्च प्रशासक एवं जिल्ला नेताहरुले पनि सक्रियता देखाएका थिए ।
सञ्चार माध्यमको सहयोग 
खुला दिसामुक्त अभियान चलेदेखि नै जिल्लाका सबै सञ्चारमाध्यमहरुले यस विषयलाई अति नै उच्च प्राथमिकतासाथ छलफल र बहसमा ल्याए । सरसफाईको के महत्व छ ? खुला दिसामुक्त क्षेत्र र यसको आवश्यकता तथा यसका लागि सामाजिक अभियान किन आवश्यक भयो ? भन्ने बारेमा यहाँका सबै सञ्चार माध्यमहरुले चर्चाको विषय बनाउदै आएका हुन् ।
खुला दिसामुक्त अभियानका बारेमा स्थानीय सामुदायिक रेडियोहरुले दैनिकजसो नै छलफलको विषय बनाए भने पत्रपत्रिकाले प्राथमिकतासाथ समाचार निर्माण गरे । साथै यस विषयलाई राष्ट्रिय सञ्चार माध्यमहरुले पनि समाचार बनाएर चर्चालाई सघाए । यसरी सञ्चार माध्यमले जिल्लालाई सफा बनाउन थालिएको विषयलाई साझा विषयका रुपमा प्रचार गरेर गुन लगाएका छन् ।
सरकारी कार्यालयहरु 
खुला दिसामुक्त क्षेत्र बनाउने अभियानको नेतृत्व गरेका मुख्य दुई कार्यालय जिविस र खानेपानी डिभिजन कार्यालयले अन्य सरकारी कार्यालयसँग समन्वय गरेर यस अभियानलाई निरन्तरता दिएका हुन् । खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति मार्फत जिल्ला विकास समिति र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयले जिल्लामा गरेका कार्यक्रमलाई गाविस, सामाजिक संस्था, राजनीतिक दल, नागरिक समाज, महिला संस्था तथा विद्यार्थी लगायतले सघाए । सभापतिका रुपमा कार्यरत स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय एवं दलका नेताहरुले यस विषयलाई मुख्य बनाएर गाउसम्म पुग्ने गरेकाले गाउलेहरुमा हौसला बढेको थियो । प्रमुख जिल्ला अधिकारी समेत गाउहरुमा पुगेर यस विषयबारे जानकारी गराउदै हिडेपछि स्थानीय समाजको भित्री तहसम्म सरसफाई विषयले गहिरिन पायो ।
गाउ पुग्ने जोसुकै नेता एवं सरकारी अधिकारीले सरसफाईलाई मुख्य जिम्मेवारी ठानेर सघाए । तत्कालीन मन्त्री, सभासद, नेता, प्रमुख जिल्ला अधिकारी लगायतले गाउलेहरुलाई हात धुन समेत सिकाए । सुन्दा सामान्य लाग्ने हात धुने अभियानले पनि जिल्लाभर चर्चा पायो । हात धुदा जान्नै पर्ने चरणबारे प्रायः अनभिज्ञ रहने सर्वसाधारणले हात धुने तरिका जान्न पाएपछि खुशी पनि व्यक्त गरे । यो अभियान सदरमुकामदेखि अति दुर्गम गाउ थबाङ, गाम, उवा, पाछाबाङ, राँक र पाखापानीसम्म पुन पु¥याइयो ।
निष्कर्ष 
यहीबाट सुरु भएको सशस्त्र युद्धले थिलोथिलो भएको रोल्पामा सुरुमा त सरसफाई अभियानले खास गति लिन सकेन । चर्को द्वन्द्वको मार खेपेका जिल्लाबासीले सुरुका दिनमा युद्धको पीडाबाट माथि उठ्ने बाहेकका अरु विषयमा सोच्न सकेनन् । यसमा खासै चासो दिएनन् । तर समयक्रममा यस विषयले गाउसम्म प्रवेश पाएपछि क्रमशः गाउलेहरुले आत्मसात गर्न थाले । र, त्यसै लगत्तै खुला दिसामुक्त र सरसफाई अभियानलाई दुर्गम ग्रामीण भेगसम्म पु¥याउन मद्दत पुग्यो । गाउलेहरु आफै पनि लागिपरे ।
दशक लामो सशस्त्र युद्धको औपचारिक समापन सुरु भए लगत्तै एकातिर नयाँ संविधान बनाउने काम सुरु भयो भने अर्कोतिर गाउघरमा शौचालय निर्माण गर्ने कामलाई पनि उत्तिकै महत्व दिन थालियो । २०६७ सालमा सर्व प्रथम शौचालय बनाउने र जिल्लालाई सरसफाईयुक्त बनाउने विषयबारे संयुक्त रुपमा प्रतिवद्धता गरिएको हो ।
सरसफाई अभियानलाई सबैको साझा अभियान बनाउदै उच्च प्राथमिकताको कार्यसूचीमा राखेर सर्वसाधारणमा चासो बढाउने योजना त्यसैबेला बनाइएको हो । यस अभियानलाई मद्दत गर्न त्यसको अगुवाई गरेका जिल्ला विकास समिति र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयले नियमित रुप्मा आफ्नो गातिविधि बनाउदै गए र दुवै कार्यालयमा रोल्पा जिल्लाको सरसफाई अभियानबारेमा जानकारी दिन सरसफाई सूचना डेस्क स्थापना गर्ने अति नै राम्रो निर्णय गरियो । तब मात्र जिल्ला विकास समिति र गाउं स्तरमा गाउं विकास समितिको पूर्ण नेतृत्व अघि बढ्यो । गाउ र जिल्लामा सरसफाई योजना सफल बनाउन डालेकोष (बास्केट फण्ड) को अवधारणा अघि ल्याएर स्थापना समेत गरियो । यो विषयलाई आम संचारका सबै माध्यमको पूर्ण सहयोग रहेर सामुहिक अभियानको रुपमा सहकार्य अघि बढ्यो ।
सरसफाई र खुला दिसामुक्त क्षेत्र घोषणा बारेमा सुर्खेत घोषणा २०६६ तथा नेपालगंज प्रतिबद्धता २०६७ समेतलाई पूर्ण स्वीकार गरेर जिल्लामा कार्ययोजना बनाउने र क्रियाशीलता बढाउने योजना अघि सारिएको थियो । जसलाई सहयोग पु¥याउन रोल्पा जिल्लामा पहिलो पटक २०६७ पुस १४ मा सबै गाविस सचिवहरुको संयुक्त भेलाले प्रतिवद्धता जनाए र अभियानका रुपमा काम गर्ने योजना बनाए ।
यसका साथै शौचालय बनाउने र सरसफाई अभियानलाई सघाउने बारेमा पत्रकार, राजनीतिक दल, नागरिक समाज, सरकारी कार्यालय, महिला संस्था, विद्यार्थी, युवा तथा गैर सरकारी संस्थाहरुले छुट्टा छुट्टै प्रतिवद्धता गरेर सरसफाई कार्य आफैबाट सुरु गर्ने घोषणा समेत गरे । लिखित रुपमा गरिएको यस प्रतिवद्धतालाई पूरा गर्न सबै पक्ष उत्तिकै सक्रिय भई लागे । यसरी जिल्लामा भएको संयुक्त गतिविधिले अन्ततः सबैका घरमा शौचालय निर्माण गर्न सफलता मिल्यो
यसैबीच जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने बारेमा क्षेत्रीय एवं राष्ट्रिय समितिहरुले रोल्पा जिल्लामा आई अनुगमन निरीक्षण बढाएका छन् । राजनीतिक दल, जिविस, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, सरकारी÷गैर सरकारी निकाय एवं नागरिक समाज प्रतिनिधिसँग छलफल, समन्वय र कार्यक्रम गरेकाले जिल्लालाई पूर्ण खुलादिसा मुक्त बनाउन र पूर्ण सरसफाईयुक्त बनाउन प्रयास अघि बढेको छ ।
रोल्पा प्रतिवद्धता २०६७
  • जिल्ला स्थित राजनीतिक दल, सरकारी गैर सरकारी, नीजि तथा सामाजिक संघसंस्था, आम संचारका माध्यमले आ(आफ्नो कार्यक्रमहरु संचालन गर्दा सरसफाई अभियानलाई सवैको साझा अभियान वनाउदै प्राथमिक कार्यसूचीमा राखेर हरेक क्रियाकलापहरु संचालन एवं कार्यान्वयन गर्ने कार्यको थालनी ।
  • जिल्ला विकास समिति र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय रोल्पामा सरसफाई सूचना डेस्क स्थापना ।
  •  जिल्ला विकास समिति, रोल्पा र गाउं स्तरमा गाउं विकास समितिको नेतृत्वमा डालेकोष (बास्केट फण्ड) को स्थापना ।
  • आम संचारका माध्यमको प्रयोग तथा सामुहिक अभियानको रुपमा सहकार्य ।
  • सरकारी कार्यालय, गैरसरकारी संघ संस्था, राजनीतिक संयन्त्रहरु, सामाजिक संस्था, बिद्यालय र निजी क्षेत्र सवैले सरसफाई आफैबाट शुरु गर्ने लिखित प्रतिबद्धता व्यक्त ।
  •  जिल्ला स्थित सरकारी, गैर सरकारी तथा राजनीतिक दलका पदाधिकारीहरुबाट सर्व प्रथम आफ्नो घरमा चर्पि निर्माण गरी खुल्ला दिसा मुक्त क्षेत्र घोषणाको अभियानमा संलग्न हुने प्रतिबद्धता ।
  •  सुर्खेत घोषणा २०६६ तथा नेपालगंज प्रतिबद्धता २०६७ लाई सहमति जनाई सोही अनुरुप क्रियाकलाप संचालन ।
  • २०६७।९।१४ गते गा.वि.स सचिवहरुले गरेको प्रतिबद्धता लाई सहमति जनाई सोही अनुरुप कार्यान्वयन र निरन्तरता ।
     शब्दमा रोल्पा
  • निर्वाचन क्षेत्र– २
  •  ईलाका संख्या– ११
  •  गा.वि.स संख्या– ४९
  •  नगरपालिका संख्या– १
  •  कूल क्षेत्रफल –१,८९३ वर्ग कि.मी
  •  कूल घरधूरी संख्या ४३६१५ (ती सबैमा शौचालय निर्माण भइसकेका छन् )
  •  उचाई(७०१ मी. देखि ३६३९ मी.
  •  सिमाना –पूर्व – वाग्लुङ र प्यूठान पश्चिम– सल्यान उत्तर–रुकुम र दक्षिण– दाङ
  • प्रतिक्रियाका लागि
     Email : akashi81@gmail.com
  • Cell :9857821288
  • Twitter@KashiRamDangi
  • लेखक नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष तथ कान्तिपुर दैनिकको रोल्पा संवाददाताका रुपमा कार्यरत छन् ।


            Source : जनआकांक्षा राष्ट्रिय साप्ताहिक and http://www.nepalioutlook.com/9182/

No comments:

Post a Comment